काठमाडौं,१७ साउन ।

नेपाल विद्यार्थी संघले परीक्षाअघि विद्यार्थीलाई कोरोना खोप लगाउन माग गरेको छ ।

कोरोना जोखिमकै बीच भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन हुन लागेकोले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन माग गरेको हो ।

विद्यालय तथा विश्वविद्यालयहरूले करिब तीन महिनादेखि रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तालिका नै प्रकाशित गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षाहरू र कक्षा १२ को परीक्षा सञ्चालनका लागि तालिका आएका छन् ।

नेविसंघले परीक्षाअगाडि नै विद्यार्थीलाई खोप लगाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले कक्षा १२ मा करिब चार लाख विद्यार्थीले परीक्षा दिन लागेको र परीक्षा केन्द्र पनि पर्याप्त नभएकोमा सोको व्यवस्थापन मिलाउन सम्बन्धित पक्षसँग माग गरेका छन् ।

‘परीक्षा हुनुपूर्व नै विद्यार्थीलाई नि:शुल्क रूपमा कोरोनाविरूद्ध खोप लगाउनुपर्छ,’ उनले भने। कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरू हुँदैछ । यस्तै कोरोना संक्रमित भई परीक्षामा सामेल हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था मिलाउन पनि नेविसंघले माग गरेको छ ।

परीक्षा केन्द्रहरूमा पूर्ण रूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न तथा गराउन पनि नेविसंघले आग्रह गरेको छ ।