बुटवल,१६ साउन । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशले ओभर लोड नियन्त्रणका लागि धर्मकाटा संचालन गर्ने भएको छ ।
महासंघ लुम्बिनी प्रदेश समितिकाे शनिवार बुटवलमा सम्पन्न विशेष बैठकले ओभर लोड नियन्त्रणका लागि धर्मकाटा संचालन गर्ने निर्णय गरेको हो ।

ट्रक यातायात व्यवसायीद्वारा सञ्चालन भएर हाल बन्द रहेका लुम्बिनी प्रदेशका धर्मकाटाहरू पुनः संचालन गर्ने निर्णय समेत गरेको छ।
धर्मकाटा संचालन नहुदा स्वदेशी तथा भारतीय मालवहाक सवारी साधनले ओभर लोड ढुवानी गर्दा सडकको अवस्था जिर्ण बनेको भन्दै ओभरलोड नियन्त्रण गर्न सके सवै व्यवसायीका सवारी साधन संचालन हुने बैठककाे निष्कर्ष रहेको प्रदेश संयोजक यम प्रसाद पाण्डेले जानकारी दिए ।

बैठकले सरकारले हालै समायोजन गरेको ढुवानी भाडालाई व्यवहारमा कार्यान्वन गर्न गराउन माग गरेको पश्चिमाञ्च यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेशका सल्लाहकार जितबहादुर भाटले बताए ।

प्रदेश संयोजक यम प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल, लुम्बिनी ट्रक समिति भैरहवा, वाणगंगा यातायात व्यवसायी समिति र राप्ती अञ्चल संयुक्त यातायात व्यवसायी समितिका पदाधीकारी तथा प्रदेशका पदाधीकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।