माेरङ,४ जेठ । मोरङको बुढीगंगा स्थित विराट शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न रहेको अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माेरङकाे बूढीगंगा २ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।

सोमबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार उनीहरुले सडक दुर्घटनामा घाइते भई अस्पताल भर्ना गरिएकी एक वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै चिकित्सक रेग्मी र स्वास्थ्यकर्मी बस्नेतमाथि आक्रमण गरी घाइते बनाएकाे प्रहरीको दाबी छ ।

आक्रमणबाट डा.रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।