१५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय
पाल्पा,१३ वैशाख ।
पाल्पाको बगनासकाली गाउपालिकाले आर्थिक विपन्नहरुलाई कोरोनाको उपचार खर्च व्यहोर्ने भएको छ ।

आर्थिक अभावका कारण मृत्यु हुन नपरोस भन्ने उदेश्यले कोरोना संक्रमितको अस्पतालमा लागेको खर्च गाउपालिकालेनै वेहोर्ने निर्णय गरेको हो ।

आज बसेको बगनासकाली गाउकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गाउपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले जानकारी दिए ।

बैठकले तत्कालै १५ शैयाको कोरोना अस्पताल निर्माण गर्ने र त्यसका लागि ५० सिलिण्डर अक्सिजन खरिद गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै होम आइसोलेसनमा बसेका संक्रमितहरुको लागि आवश्यक परेमा घरमै अक्सिजन पुर्याउने,घरमा आइसोलेसनमा बसेका संक्रमितहरुको लागि औषधी उपचारको किट घरघरमै उपलब्ध गराउने, आफु बसेकै घर—घरमै गएर कोरोनाको नमुना संकलन गरी परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय समेत गाउपालिकाले गरेको छ ।

मंगलबारदेखी बैशाख २० गतेसम्मसबै शैक्षिक संस्थाहरु बन्द गर्ने,भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने,गाउपालिका भित्र कुनै पनि विवाह, भोज, भतेर जस्ता सामाजिक र सांस्कृतिक कृयाकलाप बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले बगनासकाली गाउपालिकालाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित सरोकारवाला निकायहरुबाट सहयोगको अपिल समेत गरेको छ ।