आवस्यक कानून नबनाएर प्रदेश सभालाई कामकाज बिहीन बनाउन खोजेको सांसदहरुको आरोप

प्रकाश खनाल
बुटवल,१९ चैत ।
लुम्बिनी प्रदेश सभा सदस्यहरुले आवस्यक ऐन कानून नबनाएर प्रदेश सरकारले प्रदेश सभालाई कामकाज बिहीन बनाउन खोजेको आरोप लगाएका छन् ।

बिहिबार बसेको प्रदेश सभाको बैठकमा मन्त्रीसँगको सवाल जवाफमा सहभागि हुँदै प्रदेश सभा सदस्यहरुले छ महिनाको अन्तरालमा प्रदेश सभाको बैठक बस्दा पनि प्रदेश सरकारले आवस्यक ऐन कानून निर्माण नगरेर प्रदेश सभालाई कामकाज बिहिन बनाउने प्रयास गरेको आरोप लगाएका हुन् ।

प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागि हुँदै प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएको एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम निर्माण गर्ने योजना के भैरहेको छ भनि प्रश्न गरेका थिए ।

उनले गुल्मीका बिभिन्न ठाउँमा रहेका धातुजन्य खाँनी उत्खनन, गुल्मीको रुरु रेसुङ्गा लगायतका प्रदेशका पर्यटकीय क्षेत्रहरुको समिति गठन तथा सामुदायिक वनहरुमा बर्षौदेखि सडेर रहेका काठको लिलाम बिक्रि गर्ने कार्यमा भएको ढिलाईबारे बिभागिय मन्त्री गिरीसँग प्रश्न गरेका थिए ।

प्रदेश सभा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गिरीले कानून नबनेका कारण केही काम अगाडी बढ्न नसकेको बताएपछि प्रदेश सभा सदस्यहरुले छ महिनाको अन्तरालमा आवस्यक कानून नबनाएर प्रदेश सरकारले के गरिरहेको थियो भनि पूरकप्रश्न गरेका थिए ।

बैठकमा प्रदेश सभा सदस्यहरु इन्द्र प्रसाद खरेल,तुलाराम घर्तीमगर,रमा अर्याल,भोज प्रसाद श्रेष्ठले पूरक प्रश्न राख्दै नेपालका वन जंगलमा काठ सडिरहेको अवस्थामा माफियाहरुसँग मिलेर मलेसियाबाट कमसल काठ आयात भैरहेको भन्दै त्यस्तो कार्य तत्काल रोक्नुपर्नेमा जोड दिएका थिए ।

आजकै बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले ‘विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’पेश गरे ।

विधेयकमाथि आजै भएको सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्यहरु भुवनेश्र चौधरी,कूल प्रसाद पोखरेल,शंकर गिरी,दीपा बिक,कमलादेबि बिकले सहभागिता जनाएका थिए ।

बैठकमा प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्मा र सामाजिक विकास समितिका सभापति दृग नारायण पाण्डेयले समितिको बार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रदेश सभाको बैठक शुक्रबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।