अर्घाखाँची,१३ माघ ।
आफ्नै २ वर्षीय छोरीको हत्या गरेको अभियोगमा अर्घाखाँचीको सितगंगामा बाबु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सितगंगा नगरपालिका–२ झिर्रा गाउँका २४ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।

आफ्नै २ वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी कसेर हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार दिउँसो साढे १२ बजेतिर घरमा एक्लै भएको मौका छोपेर घिमिरेले घरभित्रै सुतिरहेकी छोरीलाई डोरीले घाँटी कसेर छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

श्रीमती केही महिनादेखि कपिलवस्तुको चार नम्बरमा बस्दै आएको र सन्तोषकी आमा र बाबु काम गर्न बारीमा गएको अवस्थामा उनले छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

दुई दिनअघि श्रीमतीलाई लिन चार नम्बर गएको श्रीमती आउन नमानेको र श्रीमान–श्रीमतीको झगडा भएपछि रिसको झोंकमा एक मात्र छोरीको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।