काठमाडौँ,१३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध नेपाली कांग्रेसले थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ ।

नेपाली कांग्रेसले माघ १९ गते भातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, पार्टीले माघ ३० गते ७७ जिल्लामै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको पार्टी केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली नेतृत्वको सरकारका तीन वर्षका बेथितिलाई समेत मुद्दा बनाइने नेता केसीले बताए । ‘अहिले हाम्रो आन्दोलनको मुख्य उद्देश्य नै संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा छ,’ केसीले भने, ‘त्यसका लागि कांग्रेसले आन्दोलन छाड्न हुन्न ।’

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थप आन्दोलनको निर्णय लिइएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मंगलबार नै बसेको पदाधिकारी बैठकले तयार पारेको प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको प्रवक्ता शर्माले बताए ।