काठमाडौं,१७ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेको छ । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने राप्रपाको चेतावनी छ ।

संसद बिघटनको बिरोधमा शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापित गर्न माग गरेका हुन् ।
हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको थापाको भनाई थियो ।

उनले भने, ‘हिजो कठिन घडीमा राप्रपाले बोकेर हिड्यो होला । अब आम नेपालीको एजेण्डा बनिसकेको छ । कसैले चाहे पनि नचाहे पनि घरघरमा बहस हुन थालेको छ ।’

थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने बताए । सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान भन्दै राप्रपा अध्यक्ष थापाले भने, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक प¥यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं । टाउकोमा कफन बाँधेर आएका छौं ।’

संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भएको भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिए ।

राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको थापाले बताए । केही दिन अगाडि मात्र नेकपाको घर झगडा मिलाउन उत्तरतिरबाट हवाइजहाज चार्टर गरेर केही मानिसहरु आएको भन्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले भने, ‘कहिले दक्षिणबाट कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको छ ।’