बुटवल,२१ मंसिर ।
आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर आइतबारदेखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीबाटै मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गरेका हुन् ।
सो अवसरमा मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन समेत गरे । लामो समयसम्म मायादेवी मन्दिर नखुल्दा पर्यटक नआएको भन्दै स्थानीय पर्यटन व्यवसायीहरुले मन्दिर खोल्न एक महिनाअघिदेखि माग गर्दै आएका थिए ।

विश्वव्यापी कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको मन्दिर सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दर्शन गर्न पाउने गरी खुला गरिएको लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले जानकारी दिए ।

मन्दिर प्रवेश गर्ने भक्तजन र सर्वसाधारणले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, सेनिटाइज हुनुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने, भिडभाड नगरी एक पटकमा आठ–दश जना मात्र प्रवेश गर्न पाइने गरी मन्दिर खुला गरिएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।

यसअघि मंसिर ३ गते मायादेवी मन्दिरबाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि मात्रै खुल्ला गरिएको थियो । तर लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिर नखुल्दा पर्यटक आगमन बढ्न सकेको थिएन । लकडाउनको समयमा लुम्बिनी विकास कोषले लुम्बिनीको पवित्र उद्यान लगायतका क्षेत्रमा सरसफाइ र सौन्दर्यीकरण गरेर थप आकर्षक बनाएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

यसैबीच लुम्बिनी विकास कोषको परिषद बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गरेको छ ।

बैठकले आन्तरिकतर्फ २० करोड १८ लाख र संघीय सरकारको एक अर्ब रुपैयाँको बजेट पारित गरेको हो । त्यस्तै बैठकले आन्तरिक व्यवस्थापन कार्यविधि स्वीकृत गर्नुका साथै ग्लोबल बुद्धिष्ट फोरम गठन गर्ने विषयमा सैद्धान्तिक सहमति दिएको छ ।

लुम्बिनी बृहत्तर क्षेत्र विकास कार्यक्रमको कार्यविधि पनि परिषद बैठकले स्वीकृत गरेको कोषले जनाएको छ ।

प्रत्येक ६–६ महिनामा लुम्बिनी विकास कोषको परिषद बैठक बस्ने प्रावधान भएपनि गत फागुन यता पहिलो पटक बैठक बसेको हो । बैठकलाई संबोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताए ।

लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएको भन्दै मन्त्री भट्टराईले तिनै अध्ययनको आधारमा विकास गरिने बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।