बुटवल,८ मंसिर ।

रुपन्देहीको देवदहमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका–१० गणेशनगरमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु ४७ प ३२०२ नम्बरको मोटरसाइकल र पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ६५ प ५८६२ नम्बरको मोटरसाइकल सोमबार एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्वत घर भइ हाल नवलपरासीको प्रतापपुर– १ बस्दै आएका ५८ वर्षिय कमान सिंह थापा रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका तीन जनालाई उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा लु ६५ प ५८६२ नम्बरका मोटरसाइकल थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले जानकारी दिए ।

लु ४७ प ३२०२ नम्बरका मोटरसाइकल चालक पाल्पाको बगनासकाली गाउँपालिका–४ का ३२ वर्षिय योगेन्द्र तिमिल्सेनाको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको खत्रीले बताए ।

सोही मोटरसाइकलमा सवार स्याङजाको कालीगण्डकी गाउँपालिका–५ का ४१ वर्षिय गुणाखर भुसालको बांया हात भांचिएको र उनको पनि अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।