बुटवल, ८ मंसिर ।
समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

सोमबार संसद भवनमा एक कार्यक्रमकाबीच पाण्डेलाई सभामुख अग्नि सापकोटाले सपथ गराएका हुन् ।

नेपाली कांग्रेसको समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सूर्यबहादुर केसीको निधन भएपछि रिक्त भएको पदमा कांग्रेसले पाण्डेलाई सिफारिस गरेको हो ।

केसीको गत कात्तिक १७ मा निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गराइएको हो ।