दाउपेच, तिकडमबाजी र प्रतिरोधबाट पार्टी नचल्ने दाबी

पोखरा, ८ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले नेकपा फुटे ओलीको अहम् र अध्यादेशले फुट्ने बताएका छन् ।

आइतबार पोखरामा माधवकुमार नेपाल पक्षका केही नेता, कार्यकर्ताको भेलामा बोल्दै पाण्डेले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टीमा संकट उत्पन्न भएको बताए ।

अहिलेको विवादको चुरो र अवस्थाबारे कार्यकर्ताबीच धारणा राख्दै पाण्डेले नेकपाभित्रको अन्तरद्वन्द्व ओलीको अहम् र मैले भनेपछि जे पनि हुन्छ भन्ने भ्रमकै उपज भएको आरोप लगाए

आफूहरु पार्टी एकताको पक्षमा रहेको बताउदै पाण्डले अहिलेकै अवस्थामा विभाजन नहुने र यदि विभाजन भयो भने ओलीले ल्याएको अध्यादेशमार्फत हुनसक्ने बताउनुभयो । सरकार ठिक ढंगले चल्नुपर्छ भन्दा ओली पार्टी फुटाउन उद्दत भएको पाण्डेको भनाइ थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग ओलीको कुरा हुँदा सल्लाहले पार्टी फुटाउनुस् भनेको कार्यकर्तालाई सुनाउदै उनले सल्लाहले पार्टी एकता गर्ने र सल्लाहमै पार्टी फुटाउने कुरा हुन नसक्ने बिचार व्यक्त गरे ।

‘केपी कमरेडमा धेरै नै अहम् छ, म जता जान्छु, त्यतै मान्छे कुद्छन् भन्ने छ । त्यो सत्य होइन,’ पाण्डेले कार्यकर्तासामु भन्नुभयो, ‘यो भोटै मलाई हेरेर आएको हो भन्ने भ्रम छ उहाँलाई ।’

पूर्व माओवादीलाई सँगै लैजाने र ओलीलाई पनि सत्यको बाटोमा ल्याउने सामर्थ्य आफूहरुमा मात्र भएको र त्यो अभिभारा पनि रहेको बताउदै पाण्डेले दाउपेच, तिकडमबाजी र प्रतिरोधबाट पार्टी नचल्ने दाबी गरे ।

विधि, विधान र मापदण्डभन्दा पनि पार्टीमा गुटबन्दी मौलाएको पाण्डेको भनाइ थियो । विभिन्न फाउन्डेसन, विद्यार्थी तथा युवा संगठन र नियुक्तिका नाममा विधि र मापदण्ड मिचिएको पाण्डेले बताए ।